Wed Dec 7 2022
मुख्य खबर

बैतडीमा एक किशोरी मृत फेला, हत्याको आशंका

बैतडी – बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ ।

‘मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन्,’ उनले भने । ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए ।