Mon Nov 28 2022
मुख्य खबर

वरिष्ठ नेता खनालले दिए ओलीलाई ‘मकैको ढोड’को संज्ञा 

इलाम– पूर्व प्रधानमन्त्री तथा नेकपा दाहाल-नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताएका छन्।

गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै खनालले यस्तो बताएका हुन्। उनले केपी ओली मकैको ढोड जस्तो निस्किएको टिप्पणी गरे।

‘केपी शर्मा ओलीलाई शक्तिशाली मानेको थिएँ’, उनले कटाक्ष गर्दै भने, ‘तर शक्तिशाली मानेको मान्छे त ढोड जस्तो पो रहेछन्। ओलीलाई आएको ठूलो अवसर उनी आफैंले गुमाएका छन्।’

ओलीलाई पटक-पटक भन्दा पनि नसुनी आफूखुसी अघि बढ्दा अहिलेको संकट निम्तिएको गुनासो गरे। कार्यक्रममा नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले ओली प्रवृत्तिको उद्देश्य भनेको लोकतन्त्र र संविधान खारेज गर्ने रहेको जिकिर गरे।

‘संविधानलाई बचाउन आन्दोलन गर्नुपर्ने भएको छ। केपी प्रवृत्ति बुझेर हामीले अघि बढ्नु पर्छ’, उनले भने, ‘हामी भित्र भएको केपी प्रवृत्ति अन्त्य नगरे कम्युनिष्ट आन्दोलन अन्त्य हुँदैन।’

उनले पञ्चायतको अन्त्य हुने बेलामा पञ्च र्‍याली र राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा देश दौडाहा गरे जस्तो ओलीले र्‍याली गरिरहेको पनि आरोप लगाएका छन्।