Wed Nov 30 2022
देश

भागरथी हत्या : ‘निर्मला प्रकरणजस्तो नहोस्’

बैतडी– दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ ।

बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो ।

चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टको भनाइ छ ।

उनले भने, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।”

मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती भट्ट निकै पीडामा रहेका छन ।

श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको हो ।

भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरिरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए ।

मृतकको किशोरी भागरथीको शव परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए ।

मृतक किशोरीको शव भने नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । उनले भने, “अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।”

किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ । घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए ।

उनले भने, “किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।”

घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ ।

नेकपा दाहाल-नेपाल समूहद्वारा भर्त्सना 

यसैगरी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भत्सर्ना गरेको छ।

नेकपाको दाहाल–नेपाल समूहको नेकपाले शोक वक्तव्य जारी गर्दै भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको घोर भत्सर्ना गरेको हो ।

पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा हस्ताक्षरित वक्तव्यमा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरिएको छ।

‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्यलाई प्रमाणित गरेको छ,’ वक्तव्यमा लेखिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कारवाहीको माग गर्दछौं।’

बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार बेलुका स्थानीय लबलेक जंगलमा विभत्स रूपमा मृत अवस्थामा फेला परेकी थिइन्‌।

​मृतक किशोरी सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत थिइन्।

यसैबीच जिल्लास्थित राजनितिक दलहरूले पनि घटनामा संलग्नको खोजी गरी कानुनी दायरा ल्याउन माग गरेका छन्। नेकपाका दुबै समूह, नेपाली कांग्रेस र तीनका भातृ संगठनले वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी हदैसम्म सजाय गर्न माग राखेका हुन्‌।

घटनामा संलग्न दोषीलाई उन्मुक्ति दिन खोजिए जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनी समेत जिल्लास्थित दलहरूले दिएका छन्।

हत्यारालाई तत्काल कार्वाही गर्न माग

यसैबीच घटनालाई लिएर  नागरिक आन्दोलनको तर्फबाट गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

बृहत नागारिक आन्दोलनका तर्फबाट युग पाठकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । जारी विज्ञप्तिमा यस्तोे दर्दनाक र जघन्य आपराधिक घटनाले सबैलाई मर्महात बनाएको बताउँदै घटनाको भर्त्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘यस्तो दर्दनाक र रजघन्य आपराधिक घटनाले हामी सबैलाई मर्माहत बनाएको छ । यसखाले निन्दनीय घटनाको हामी घोर भर्त्सना गर्दछौं । यस किसिमको मानवता विरोधी जघन्य अपराधको सरकारले अविलम्ब निष्पक्ष छानविन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाहरी गर्न बृहत नागरिक आन्दोलन सरकार र सम्बन्धित निकायहरुसँग जोडदार माग गर्दछ, साथै यसखाले जघन्य मानवअधिकार विरोधी घटनाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठनहरुको समेत ध्यानाकर्षण होस् भन्ने विशेष आग्रह पनि गर्दछ ।’

गत असोजमा बझाङमा सम्झना बिकको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै यस किसिमको घटना हुनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि चरण असंवेदनशील र जवाफदेही नभएको पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने, षडयन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने, पीडकलाई छुट्कार दिने र पीडितलाई थप पीडा दिने काम नगर्न आग्रह गरिएको छ ।