Sat Dec 10 2022
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमनदी फुटेर बाढी : सात जनाको शव फेला, १२५ बेपत्ता

काठमाडौँ– उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएर बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र कैयौँको मृत्यु भएको आशङ्का गरिएको छ।

हिमनदी फुटेर आएको बाढीमा परि ज्यान गुमाएका कम्तीमा सात जनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन्। अझै पनि पनि झण्डै १२५ जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गरि समाचार संस्था रोयटर्सले जनाएको छ ।

उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो। अधिकारीहरूका अनुसार १२५ जनाभन्दा बढी गाउँलेहरू हराएको हुन सक्ने बीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धेरै नोक्सानी पुर्‍याएको देखिन्छ। चमोली जिल्लाको धौलीगङ्गा नदीमा तीव्र गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ।

हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ।

“भेल एकदमै छिटो आयो, कसैलाई सचेत गराउन भ्याइएन,” नजिकैको गाउँमा रहेका सञ्जयसिँह रानाले रोयटर्स समाचार संस्थालाई बताए। “मलाई त हामीलाई पनि बगाउँछ जस्तो लागेको थियो।”

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले १२५ जना हराइरहेको अहिलेसम्म पुष्टि भएको बताएका छन्।

तर अधिकारीहरूका अनुसार त्यो सङ्ख्या बढ्न सक्छ। “सातवटा शव फेला पारिएको छ र उद्धार कार्य जारी छ,” रावतले पत्रकारहरूलाई भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा भनेका छन, “सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको छ ।”

-स्रोत बीबीसी