Mon Nov 28 2022
मुख्य खबर

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या

एजेन्सी– भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बीबीसी हिन्दीले जनाएको छ।

प्राथमिक जाँच र सामाजिक सञ्जालमा भाइरल भएको एक अडियोका आधारमा घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख समेत संलग्न रहेको देखिएको छ । भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको एसपी नवीनचन्द्र झालाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ । रञ्जनलाई निलम्बन गरिएको र उनकाविरुद्ध एफआईआर दर्ता गराइएको एसपी झाले बताएका छन्। २१ जनवरीमा भएको यो घटनाको प्रहरीले १२ दिनपछि अर्थात् फेब्रुअरी २ मा मात्र एफआईआर दर्ता गरेको हो ।

मृतक बालिकाका बाबु सुरेश (नाम परिवर्तन) नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे। घटना हुँदा सुरेशकी पत्नी नेपाल आएकी तथा सुरेश आर्फै पनि मजदुरी गर्न गएका थिए । उनका छोरा पनि काम विशेषले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि सामूहिक बलात्कार भएको जनाइएको छ ।