Thu Dec 1 2022
मुख्य खबर

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

काठमाडौँ – सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ ।

औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने गरीको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, ‘त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।’

भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ ।

भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उनले बताए ।