Wed Dec 7 2022
मुख्य खबर

भारतमा हिमपहिरोमा परि १८ को मृत्यु, २ सय बढी बेपत्ता

ऋषिकेश– भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।

आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए ।

उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए ।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ ।

“यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भने ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए ।