Wed Nov 30 2022
मुख्य खबर

शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका आधारमा कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध पत्र पठाएको हो ।

मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको पत्रमा उल्लेख गरेको छ ।

यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक शैक्षिक सरोकारवाला निकायहरुले लाखौ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेको बताए।

त्यस्तै, प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेको जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंक्तिको सूचीमा शिक्षकलाई राख्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको बताए ।

सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन सुरू गरिसकेको छ । गत माघ १४ गतेबाट चलेको खोप अभियान अन्तर्गत दोस्रो चरण सोमबारबाट सुरू भैसकेको छ

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते पत्रचार गरेर कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको विवरण संकलन गरिसकेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागले शिक्षा मन्त्रालयलाई कोरोना खोपको लागि नीजि तथा सामुदायिक विद्यालयका शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरेको हो ।

शिक्षा सचिव गोपीनाथ मैनालीले सोमबारबाट शुरु भएको खोप अभियान पहिलो प्राथमिकताकै दोश्रो चरण भएको बताएका छन् । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत रहेको उनले बताए ।