ओलीले नेपालमा फाँसिवादको अभ्यास गरे, हामी परास्त पार्छौ : नारायणकाजी श्रेष्ठ

ओलीले नेपालमा फाँसिवादको अभ्यास गरे, हामी परास्त पार्छौ : नारायणकाजी श्रेष्ठ
बुधबार, माघ २८, २०७७

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसिवादको अभ्यास गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले बुधबार काठमाडौँमा आयोजना गरेको बिरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसिवादको अभ्यास गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बिकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रुपमा खारेज नगरीकन संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसिवादको अभ्यास गरेको उनको भनाई छ ।

प्रवक्ता श्रेष्ठले कुनैपनि हालतमा फाँसिवाद नसहने भन्दै फाँसिवादलाई परास्त गर्ने बताए ।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रवादीहरु चुनावको पक्षमा भएपनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफुहरुलाई नचाहिएको बताए ।

लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उनको भनाई छ ।

लोकतन्त्रको ध्वसं गर्ने तथा लोकतन्त्रको हत्या गर्ने चुनाव प्रतिगमनविरोधी आन्दोलन सफल बनाएर खारेज गर्ने उहाँको भनाई छ ।

प्रवक्ता श्रेष्ठले प्रतिगमन विरुद्ध संयुक्त संघर्ष गर्न पहलकदमी गरिरहेको भएपनि त्यसो हुन नसकेको बताए ।

तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उनको भनाई छ । आन्दोलनले संसद पुर्नस्थापना गर्ने कुरा सुनिश्चित भएको उनले दाबी गरे ।