महिला लिगः एपिएफको जितमा सावित्राको ६ गोल

महिला लिगः एपिएफको जितमा सावित्राको ६ गोल
बुधबार, माघ २८, २०७७

काठमाडौं-विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

एपिएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

पहिलो मिनेटमा नै गोलको खाता खोलेकी अनिताले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् ।

ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले छैटौं, ३३औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गोल गरेकी हुन ।

यस सँगै एपिएफले जारी लिगमा लगातार आठौं जित निकालेको छ । एपिएफले ८ खेलबाट २४ अंक जोडेको छ ।

जितपछि एपिएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ । पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ ।

चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ ।

पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।