Wed Nov 30 2022
मुख्य खबर

पर्सामा बालुवा उत्खनन रोक्न खोज्दा ढुङ्गा प्रहार, दुई प्रहरी घाइते

पर्सा– पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबरजस्ती रुपमा भइरहेको बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको अस्पताल आकस्मिक विभागका प्रमुख डा उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार अर्का घाइते नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ । दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भारतीयले ओरिया खोलामा आज बालुवा उत्खनन गरेर लैजाँदै गरेका अवस्थामा भारतीय ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरु घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टि र पिडारीगुठीको संयुक्त टोलीले बालुवा लोड गरिरहेका तीनवटा भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको बताइएको छ । ट्र्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भङ्गहाका बासिन्दाले लाठी, भाटा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । रासस