Fri Dec 9 2022
मुख्य खबर

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

काठमाडौं – मानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट पल्सरसहित धादिङको गजुरीका धन बहादुर तामाङलाई वास्तविक नम्बर परिवर्तन गरि बा प्र ३–०२–०२० प ४८२४ राखेको अवस्थामा पक्राउ गरेको हो।

त्यस्तै, बल्खुबाट २२० सीसीको एनएस पल्सर मोटरसाइकलसहित धादिङ थाक्रेका ईन्द्र तामाङ र रिखीलाल तामाङलाई प्रदेश ३–०२–०११ प ८९२९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान एवं सोधपुछ गर्दा मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ का निरश थिङ भएको तथ्य पत्ता लागेको थियो। प्रहरी टोलीले सूचना संकलन एवं खोजतलास गरी विशेष सुराकीको आधारमा थिङलाई बल्खुबाट पक्राउ गरेको उनले बताए।