Thu Dec 1 2022
मुख्य खबर

सरकारका तीन वर्षमा प्रधानमन्त्रीले काम होइन गफमात्रै गरे : डा.कोइराला

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गफै गरेर तीन वर्षे कार्यकाल पूरा गरेको बताएका छन् ।

ओली सरकारको तीन वर्षे कार्यकाल सोमबार पुगेको सेरोफेरोमा बोल्दै डा. कोइरालाले ओलीले गफबाहेक केही पनि काम नगरेको बताए ।

उनले ओलीको कार्यकाल कस्तो भयो भन्ने बारेमा जनताले नै निर्णय गर्ने बताए ।

ओली सरकारले जनतालाई सपनामात्र बाँडेको कोइरालाको भनाइ छ । रेल ल्याउनेदेखि पानीजहाज चढ्नेसम्मका सपना देखाएर ओली सरकारले गफमात्र गरेको उनले बताए ।

उनले ओली सरकारका पालामा भ्रष्टाचार चरम रुपमा बढेको समेत आरोप लगाए । ओलीले वाइडबडी खरिद प्रकरण, ओम्नी समूह, यति होल्डिङ्स लगायतका भ्रष्टाचारमा ढाकछोप गरेको दाबी छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनललेसमेत ओली सरकार सबैभन्दा बढी भ्रष्ट भएको प्रतिवेदन दिनु नै यसको प्रमाण भएको डा. कोइरालाको दाबी छ ।

कोरोना भाइरसको महामारीका बेलामा समेत पनि सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले सरकार गैरजिम्मेवार भएको बताए ।

सरकारले असंवैधानिक भएर संसद विघटन गरेको भन्दै आफैले लेखेको संविधानमाथि कुठाराघात गरेको बताए ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा डा. कोइरालाले विकासका कुनै पनि नयाँ योजना यो सरकारले ल्याउन नसकेको दाबी गरेका हुन ।