Sat Dec 10 2022
मुख्य खबर

प्रतिनिधिसभा विघटनको विरोधमा आज कांग्रेसले देशभर प्रदर्शन गर्दै 

काठमाडौँ- नेपाली काँग्रेसले ७७ जिल्ला कार्यसमितिको आयोजनामा आज देशभर प्रदर्शन गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेसले यस कदमको विरोध गर्दै प्रदर्शन तथा विरोध गर्दै आएको छ।

यसअघि काँग्रेसले प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह स्तर र वडा स्तरमा प्रदर्शन गरिसकेको छ। यसैगरी काँग्रेसले भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा पनि सरकारको विरोध आयोजना गरिसकेको छ।

आजको विरोध प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आइतवार एक अपिल जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली काँग्रेसले फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु।’

यसैबीच कांग्रेसले सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन’को नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको जनाएको छ। युवा पुस्तालाई त्यसतर्फ सजग बन्न कांग्रेसले अपिल गरेको छ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’को नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरूपमा ब्युँताउन लागेको बताएका छन्। उनले आज बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ।”

प्रवक्ता शर्माले सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति भने नहुने स्पष्ट पारेका छन्। तर त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको उनले बताए।

उनले थप व्यवस्था आवश्यक भए पनि बृहत्तर विमर्शबिना, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत् जारी गर्नेतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको बताए। कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरू जारी गर्न नहुने, नमिल्ने र नपाइने उनको दावी छ।

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई प्रवक्ता शर्माले चेतावनी पनि दिएका छन्। उनका अनुसार पार्टीले आज गर्ने देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ।

सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवादतर्फको अर्को फड्कोको रूपमा शर्माले टिप्पणी गरे। यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताको पक्षधर युवा पुस्तासहित सबैलाई जागरुकताको लागि उनले आह्वान गरेका छन्।