Sat Dec 10 2022
मुख्य खबर

निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक नगरेकोमा देउवाको आपत्ती

भैरहवा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका सार्वजनिक नगरेकोमा आपत्ति जनाएका छन् ।

भैरहवामा सोमबार भएको विरोधसभामा सभापति देउवाले संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा आशंका उत्पन्न भएको पनि बताए ।

‘निर्वाचन आयोगले चुनावको प्रक्रिया नै शुरु गरेको छैन । निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर निकाल्दैन । कुनै पनि संसद विघटन भएको ६ महिनाभित्र चुनाव गरिछाड्नुपर्छ । कमसे कम जेठ अन्तिमतिर त चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा बाहिर जान सक्छ,’ कार्यक्रममा बोल्दै देउवाले भने, ‘निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्छु । प्रधानमन्त्री ओलीले संसद विघटन गरेका ६ महिनाभित्र चुनाव गराउनै पर्छ । बैशाखसम्म चुनाव गराउँछु भनेको छ तर आयोगले किन अहिलेसम्म किन कार्यतालिका सार्वजनिक गरेको छैन ?’

उनले अदालतमा विचाराधीन रहेको संसद पुनर्स्थापनाको विषयमा सडकमा आन्दोलन नगर्ने दोहोर्‍याए ।

उनले भने, ‘जनताभन्दा ठुलो अदालत संसारमा अरु केहीपनि छैन । हामीले भन्ने एउटा कुरा अदालतमा विचारधीन मुद्दामा यस्तो गर उस्तो गर भन्न मिल्दैन । जुलुस निकालेर अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । अदालतमा विचाराधीन मुद्धामा किनारा नलाग्ने बेलासम्म पर्खिऊँ न । स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकाले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास हामीलाई छ ।’

नेकपाको दुई समूहका बीचमा निर्वाचन चिह्नका बारेमा विवाद भइरहेको भए पनि निर्वाचन आयोगले त्यसमा पनि निर्णय गर्नुपर्ने बताए ।