अस्ट्राजेनिका खोपलाई डब्ल्युएचओले दियो मान्यता

अस्ट्राजेनिका खोपलाई डब्ल्युएचओले दियो मान्यता
मङ्लबार, फाल्गुन ४, २०७७

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरीब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्ल्युएचओले विश्वास लिएको छ ।

अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रममार्फत विश्वभर वितरण गर्न डब्ल्युएचओको अनुमतिले सहज बनाएको छ । डब्ल्युएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

डब्ल्युएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्समार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।

भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।

कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ ।