भागरथी हत्याका आरोपी सार्वजनिक गरिए पनि परिवारले शव बुझेनन्

भागरथी हत्याका आरोपी सार्वजनिक गरिए पनि परिवारले शव बुझेनन्
बुधबार, फाल्गुन ५, २०७७

काठमाडौँ– प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई सार्वजनिक गरेपनि परिवाले अझै शव बुझ्न मानेका छैनन् । उनको शव अस्पतालमै रहेको छ ।

प्रहरीले आरोपीलाई सार्वजनिक गरेपनि पीडित परिवारले ऊ एक्लैले हत्या गरेको भन्नेमा शंका व्यक्त गरेको छ ।

भागरथीका आफन्त शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि उसले नै हत्या गरेको हो भन्ने तथ्य पुष्टि नभएको बताए ।

उनले भने, ‘प्रहरी एक युवकलाई सार्वजनिक गरेको छ, तर उसैले नै हत्या गरेको हो भन्ने अहिले नै विश्वास योग्य प्रमाण केही छैन, कसरी पत्याउने ?’

उनले तथ्य पुष्टि नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो।

अहिले भागरथीका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएर घटनास्थल पुगेर भागरथीलाई मार्ने उद्देश्यले कुरेर बसेको देखिएको छ ।