कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौं । अमेरिकामा कारोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ ।

अमेरिकाको पश्चिमी तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको निधन भएको हो । मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए । अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्यु र सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ ।

राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै संघीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ ।

बाइडनले कारोना भाइरस संक्रमणबाट मृत्यु भएको यो संख्यालाई पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी भएको बताएका छन ।

अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ । त्यहाँ दुई लाख ४४ हजारको ज्यान गइसकेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिकोमा एक लाख ७८ हजारको निधन भएको छ ।