ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
बिहिबार, फाल्गुन १३, २०७७

हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहान ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार आज बिहान पौने ६ बजे मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना१ह ३४०८ नम्बरको सफारी रिक्सालाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।