विश्वमै पहिलोपटक अस्ट्रेलियामा गुगल र फेसबुकले समाचार प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानून पारित

विश्वमै पहिलोपटक अस्ट्रेलियामा गुगल र फेसबुकले समाचार प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानून पारित
बिहिबार, फाल्गुन १३, २०७७

एजेन्सी । गुगल र फेसबुकले सञ्चार माध्यमका समाचार प्रयोग गरेबापत सम्बन्धित प्रकाशकलाई निश्चित शुल्क तिर्नुपर्ने कानून बनेको छ ।

अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई विभिन्न सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको हो । अष्ट्रेलियाले पारित गरेको यो कानून संसारकै पहिलो कानून भएको बताइएको छ ।

अमेरिकी प्राविधिक संस्थाहरूले यो कानुनको विरोध गर्दै आएका थिए । गत साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो, तर सरकारसँगको वार्तापछि त्यो खुला भएको थियो ।

वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई सो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ ।

ती कम्पनीले समाचार संस्थाहरुसँग सोझै सहमति गर्न सक्ने प्रावधान राख्दा कानूनी अवरोधबाट बच्न सक्छन ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले आज संशोधन सहित पारित गरेको हो । सिनेटले सो कानुन यसअघि नै पारित गरिसकेको थियो ।