बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
बिहिबार, फाल्गुन १३, २०७७

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय बन्द गरिएको छ।

करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो।

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए।

विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन्।

एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो।