म्याग्दीको बेनी नगरपालिकामा मापदण्डविपरीत बगर उत्खनन्

म्याग्दीको बेनी नगरपालिकामा मापदण्डविपरीत बगर उत्खनन्
बिहिबार, फाल्गुन १३, २०७७

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन् गर्न थालेका छन् ।

वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा कटानको जोखिमका साथै जैविक विविधतामा असर परेको हो ।

बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।

अव्यवस्थितरूपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन गर्दा नदी गहिरिने, माछालगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठूलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन र निकासीका लागि रु सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले नदीजन्य वस्तु उत्खननमा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए ।

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको आग्रहअनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने विषयमा जलजला र रघुगङ्गाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताए ।

साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन गर्दा सम्भव नहुने भएकाले विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपूर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताए ।