दरबार हाई स्कुललाई चिनियाँ सरकारको सहयोग

दरबार हाई स्कुललाई चिनियाँ सरकारको सहयोग
शुक्रबार, फाल्गुन १४, २०७७

काठमाडौं । चिनियाँ सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री र पोशाक सहयोग गरेको हो ।
आज विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरे ।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा पोशाक सहयोग गरेको जानकारी दिए ।

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैले विद्यालय भवनको निर्माण गरिदिएको थियो ।

पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकिला र आधुनिक देखिएको छ ।

चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ ।