सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौं– नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ ।

यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले पुनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन ।

बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिने जनाएको हो।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार संसदीय दलले निर्णय नगरी अहिले नै सबै कुरा भन्न नमिल्ने बताए ।

उनले शुक्रबार संसदीय दलको बैठक बसेर सवै बिषयको निर्णयमा पुगिने तर्क गरे । यसपल्ट इन्जुरी टाइममा गोल गर्ने उनले बताए ।

बैठकमा संवैधानिक, राजनीतिक कोण, संविधानको हित लगायतका विभिन्न कोणबाट पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उनले बताए ।

त्यस्तै प्रवक्ता शर्माले विप्लव समूहसँग सरकारको सहमति सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे जानकारी नआएकाले यस बिषयमा पछि टिप्पणी गर्ने बताए ।

उनले संविधानको परिधिभित्र रहेर सरकार र बिप्लव समूह समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने जनाए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति देउवाले बैठक बोलाएका थिए ।