भारत सरकारको सहयोगमा निर्मित हुलाकी राजमार्ग सडकखण्ड हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्मित हुलाकी राजमार्ग सडकखण्ड हस्तान्तरण
बुधबार, चैत्र १८, २०७७

काठमाडौँ– भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ ।

बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गरे ।

कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर आज हस्तान्तरण गरिएको हो । योसँगै हुलाकी राजमार्गलाई जोडने विरगञ्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ ।

नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अडकिएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङ्गले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए ।

नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई यसप्रकारका भौतिक पूर्वाधारको माध्यमबाट सकार पार्न सकिने बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताए ।

नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने बताए ।

आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताए । यस्तै रक्सौल–काठमाडौँ रेलमार्गका लागि डिपीआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।