राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल आजबाट सुरु

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल आजबाट सुरु
बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ ।

पाँचौ संस्करणको भलिबल त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा खेलाइने छ । उद्घाटन खेलमा आज महिलातर्फ न्यू डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछन् । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ ।

दोस्रो खेल एपीएफविरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यू डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।