नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु

नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु
सोमवार, चैत्र ३०, २०७७

काठमाडौँ– नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने २६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी चैत २४ गते मंगलबार २६० जनामा संक्रमण पुष्टि भएको थियो । २५ गते बुधबार तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए भने २९८ जना संक्रमित थपिएका थिए ।