कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’

कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’
सोमवार, चैत्र ३०, २०७७

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन ट्राफिक प्रहरीले जनचेतनामुलक अभियान शुरू गरेको छ ।

दोस्रो लहरको संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक अभियान शुरू गरेको हो ।

पुरानो बसपार्कबाट आज शुरू गरिएको उक्त अभियानको नारा ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान फलदायी हुने अपेक्षा गरे ।

कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकाले बेलैमा सुरक्षाका उपाए अपनाएर मात्र चलायमान गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने धारणा राखे ।

उनीहरूले सम्पूर्ण चालक, सहचालक तथा यात्रुहरूलाई अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरेर मात्र सवारी साधनको प्रयोग गर्न आह्वानसमेत गरेका छन् ।

कार्यक्रममा यातायात व्यवसायीहरू, मजदुर संघ र युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूले सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँसेर पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क वितरण गरेका थिए ।