Wed Aug 17 2022
देश

आशाको दियो बोकेर आयो नयाँ वर्ष २०७८, सबैलाई शुभकामना

निर्मल गुरुङ
वर्ष २०७७ नेपालीका लागि त्यति सुखद रहेन । विश्व समूदाय कोरोनाको कहरसँग जुध्यो । कोरोनाकै कारण धेरै नागरिकले ज्यान गुमाए, धेरै बिरामी छन् । बिरामीमध्ये धेरैको स्वास्थ्य अवस्था गम्भीर छ । यही कोरोनाले विश्वमा स्वास्थ्य, आर्थिक, सामाजिक क्षेत्रमा नकारात्मक प्रभाव प्रार्‍यो । यसको असर धेरै नेपालीले व्यहोरे ।

कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै पाँच महीना लकडाउन गर्न पर्‍यो, आर्थिक सामाजिक गतिविधि ठप्प भए । लामो समय यातायातका साधन चलेनन्, विद्यालय बन्द भए । यत्तिमात्र होइन धेरैको रोजगारी गुम्यो, धेरै व्यवसायीले व्यापार व्यवसायबाट हात झिक्न पर्‍यो । वैदेशिक रोजगारीमा गएका पनि धेरैले रोजगारी गुमाए । काम गरिरहेकाहरुको पनि अवस्था सन्तोषजनक छैन ।

आजबाट नयाँ वर्ष २०७८ शुरू भएको छ । यो वर्ष आम नेपालीका लागि सुन्दर वर्ष बनोस् । आर्थिक समृद्धिको वर्ष बनोस्, व्यापार व्यवसायमा उन्नती र प्रगतिको वर्ष बनोस् । मेरो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा शुभकामना ।

नेपालको राजनीतिक अवस्था
वर्ष २०७७ मा नेपालको राजनीतिक अवस्था त्यति सन्तोषजनक छैन । पाँच वर्ष स्थिर सरकार सञ्चालनका लागि नेपाल कम्युनिस्ट पार्टीलाई जनताले दुई तिहाई मत दिए पनि त्यो मतको राजनीतिक दलले सदूपयोग गर्न सकेनन् ।

बाम गठबन्धन बनाएर जनताबाट अधिक मत ल्याई सरकार सञ्चालनसँगै एकीकरण भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७७ सालबाटै पुरानै अवस्थामा फर्किए ।

सरकारलाई सत्तारुढ दलले नै सहयोग नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी निर्वाचनको मिति तोके । तर, सरकारले गरेको यो निर्णय सर्वोच्च अदालतले उल्ट्याएपछि संसद बैठक त बस्यो, तर ठोस विजनेस नपाउँदा औपचारिकतामा सीमित भएको छ ।

एक भएका दुई कम्युनिष्ट दल फेरि फुटे । अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

अब नयाँ वर्षले राजनीतिक दलका नेतृत्वलाई सुझबुझका साथ जनमुखी काम गर्ने प्रेरणा प्रदान गरोस् । जनताको मतलाई सही सदुपयोग गर्ने प्रेरणा प्रदान गरोस् मेरो शुभकामना ।

आर्थिक अवस्था
२०७७ को शुरुवातमा नै देशभर लकडाउन थियो । जसबाट नेपालको अर्थतन्त्र खस्कियो । लकडाउनको मारमा साना व्यापार गर्ने मात्र होइन ठूला उद्योगीहरु समेत परे । देशले समेत कोरोनाको उपचारमा अर्बौ खर्च गर्‍यो ।

हरेक जनताको आर्थिक अवस्था यति खस्कियो कि उनीहरुको अवस्थामा अझै सुधार आउन सकेको छैन । यति मात्र होइन, अझैसम्म साना ठूला सवै खालका व्यापारी र उद्यमीको अवस्था सुधार हुन सकेको छैन । पर्यटन, होटल व्यवसाय, यातायात तथा मनोरञ्जनका क्षेत्रहरु यसको सबैभन्दा बढि पीडामा परे ।

मेडिकल, औषधोपचार, अस्पताल लगायतका क्षेत्रको आर्थिक अवस्थामा भने खासै नकारात्मक असर परेन । बरु अझ राम्रो आम्दानी गर्न पुग्यो । तर महंगीले भने जनताको ढाड सेक्यो । खाद्य पदार्थदेखि इन्धनसम्म सबैको मुल्यले आकाश छोयो । यहि वर्ष देशमा मंहगी बढ्यो ।

आर्थिक रुपले वितेको एक वर्षलाई नियाल्दा २०७७ साल निराशाजनक रह्यो ।

अबको बाटो
२०७७ सालले हामी सबै नेपालीलाई थप परिपक्व बनाएको छ । प्राकृतिक विपत्तीको सामना गर्न सिकाएको छ । परिवारभित्र रमाउन सिकाएको छ ।

स्वास्थ्य भन्दा ठूलो धन अरु हुँदैन भन्ने पाठ पनि पढाएको छ । आत्म अनुशासन, खानपान, पारिवारिक वातावरणसँगै स्वास्थ्य र सफाइका धेरै कुरा हामीलाई सिकाएको छ । दुःखका साथ हामीलाई यो वर्षले मुस्कुराउन सिकाएको छ ।

विगतका कमिकमजोरीबाट पाठ सिक्दै आगामी दिनलाई रचनात्मक बनाउन हामी कम्मर कसेर लाग्न आवश्यक छ । आफ्नो लागि आफैँ उत्पादन गर्नुपर्छ भन्ने ठूलो सन्देश पनि यो वर्षले सबैलाई दिएको छ ।

त्यसैले हामी स्वाबलम्बी बनौँ । नयाँ वर्ष २०७८ को सबैलाई शुभकामना ।