काठमाडौँ उपत्यकामा निषेधाज्ञा लाग्न सक्ने, आजबाट अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लाग्न सक्ने, आजबाट अत्यावश्यक बाहेकका सेवा बन्द
सोमवार, बैशाख १३, २०७८

काठमडौँ– काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना बढेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञाको सम्भावना बढेको हो ।

हाल काठमाडौं,  ललितपुर र भक्तपुर लगायतका केही जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सीसीएमसीको बैठकपछि आज उपत्यकाका तीन जना प्रमूख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय लिने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।

उनले भने, ‘स्थिति भयावह बनिरहेको छ । त्यसैले अब हामी बैठक बसेर आवश्यक निर्णय लिनेछौं ।’

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने सीसीएमसीको सिफारिसलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै आफूहरुले निर्णय लिने बताए ।

यसअघि हिजो तीन वटै  जिल्ला प्रशासन कार्यालयहरुले आजबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरेका छन् ।

कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै अत्यावश्यक बाहेकका अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको हो ।