अनावश्‍यक सञ्‍चिति गरेर मूल्य नबढाउन उद्योग वाणिज्य महासंघको आग्रह

अनावश्‍यक सञ्‍चिति गरेर मूल्य नबढाउन उद्योग वाणिज्य महासंघको आग्रह
बिहिबार, बैशाख १६, २०७८

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुको अनावश्यक सञ्‍चित नगर्न आग्रह गरेको छ। महासंघले यसरी सञ्‍चिति गरेर उपभोग्य वस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ।

कोरोना महामारी फैलिन नदिनका लागि स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका छन्।

संकटको बेलामा अनावश्यक सञ्‍चिति र मूल्य वृद्धि नगरि आम सर्वसाधारणलाई सेवा प्रदान गर्न महासंघ सबै सायीहरूलाई आग्रह गर्दछ । यसैगरि आवश्यक सामाग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको महासंघले जानकारी दिएको छ।

कोरोनाको दोस्रो लहरको जोखिम र यसको संक्रमण रोक्नका लागि निजी क्षेत्र उत्तिकै संवेदनशिल रहेको तर निषेधाज्ञाबाट गुम्नसक्ने रोजगारी तथा घट्ने आर्थिक गतिविधिप्रति सरकारलाई सचेत हुन महासंघले आग्रह गरेको छ।

गत वर्षको लकडाउनबाट भर्खरै तंग्रिन थालेको अर्थतन्त्रमा फेरि संक्रमण बढदै जादा असर पर्ने महासंघको ठहर छ। सरकार, निजी क्षेत्र सहित आम जनता सवैको दायित्व फेरि पनि संक्रमणलाई नदिइ अर्थतन्त्रलाई पनि चलायमान बनाउनु भएको महासंघको भनाइ छ।

स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निषेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक भएको महासंघको भनाइ छ।

ठूला परियोजनाहरूको निरन्तरता,उद्योग कलकारखानाहरूको सञ्चालन,उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ।

निषेधाज्ञाबाट रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गरेको छ।