नेपाल सुपर लिग फुटबल :  धनगढी र ललितपुर भिड्दै

नेपाल सुपर लिग फुटबल :  धनगढी र ललितपुर भिड्दै
बिहिबार, बैशाख १६, २०७८

काठमाडौँ- पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । धनगढी र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

धनगढी ललितपुरलाई हराएर लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ । धनगढी २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यता, ललितपुर भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा ललितपुरले एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो ।