विमानस्थल खुला हुँदा काठमाडौँमा चहलपहल उस्तै

विमानस्थल खुला हुँदा काठमाडौँमा चहलपहल उस्तै
फाइल तस्वीर
शुक्रबार, बैशाख १७, २०७८

अमृत ढकाल
काठमाडौँ– कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै रोकथाम र नियन्त्रण गर्न हिजोदेखि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाका कारण सार्वजनिक सवारी चलेका छैनन् । निजी सवारीलाई पनि चेकजाँचमा कडाइ गरिएको छ । तर हवाइ यातायात भने जारी छ । जसका कारण काठमाडौँ भित्रने र यहाँबाट बाहिरिने हवाइ यात्रुको संख्या झन बढे्को छ ।

बिहीबारदेखिको निषेधाज्ञाले काठमाडौँमा चहलपहल घटेको छ । अत्यावश्यक बाहेकका सवारी काठमाडौँ भित्रने तथा यहाँबाट बाहिरिएका छैनन् । तर हवाइ यातायात भने जारी छ । जसले हवाइ माध्यमबाट काठमाडौँ छाड्ने र भित्रने यात्रुको संख्या झन बढेको छ । शुक्रबारमात्रै आन्तरिकतर्फ ७७ उडान भएको त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल शाखाले जनाएको छ ।

सरकारले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न निर्देशन दिएपनि विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना गरेको पाइदैन । विमानस्थलमा यात्रुको चाप व्यवस्थापन गर्न नै कठिनाइ भएको देखिन्छ । जसले कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने देखिन्छ ।

बिहीबार आन्तरिकतर्फ १०४ उडानमार्फत ८ हजार २६९ जनाले यात्रा गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उप—निर्दशक तथा सुचना अधिकारी तेज बहादुर पौडेलले जानकारी दिए । त्यस्तै शुक्रबार ७७ वटा उडान भएको पौडेलले बताए ।

विमानस्थलको भिडभाडले कोरोना संक्रमणको जोखिम बढेको देखाएपनि यात्रुले भने स्वास्थ्यमापदण्डका साथ यात्रा गरेको बताएका छन् ।

निषेधाज्ञाको अवधिमा हवाइमाध्यमबाट यात्रा गर्ने यात्रुले प्रहरी चेकचाँचका क्रममा टिकट, भिसा, पासपोर्ट देखाउनुपर्छ । उनीहरुलाई यात्रा गर्न प्रिपेट ट्याक्सीको व्यवस्था गरिएको छ । विमानस्थलबाट अनुमति पाएका ट्याक्सीमा मात्र यात्रुले यात्रा गर्न पाउनेछन् । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाको सही पालन गर्दै यात्रा गर्ने यात्रुले पनि उचित स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।