निषेधाज्ञा: सडकमा पशुचौपायदेखि गाडी खोज्ने यात्रुसम्म (भिडियो रिपोर्ट)

कार्ड देखाउने बढेपछि चेकिङमा कडाइ

निषेधाज्ञा: सडकमा पशुचौपायदेखि गाडी खोज्ने यात्रुसम्म (भिडियो रिपोर्ट)
शुक्रबार, बैशाख १७, २०७८

पुष्कर खतिवडा

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा निषेधाज्ञाको दोश्रो दिन पहिलो दिनको तुलनामा केहि कडाई गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको महामारी भयावह बनेपछि सरकारले बिहिबारबाट लागु हुने गरी १५ दिनलाई काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । बिहीबारबाट जारी निषेधाज्ञाको दोश्रो दिन पनि उपत्यकाका बजार र सडकमा चहलपहल कम देखियो ।

सडकमा सवारीसाधन कम चले । पहिलो दिनमा केही खुकुलो गरिए दोश्रो दिनमा प्रहरीको चेकिङमा कडाइ गरिएको थियो । चोकहरुमा निषेधाज्ञा पालना गराउन प्रहरीले गरेको कडाईले सर्वसाधारण रुष्ट बने ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

शुक्रबार विवाहको लगन भएकाले निषेधाज्ञाका बावजुद विवाहका गाडीमा जन्त जानेको सामान्य चहलपहल देखियो । सडकमा सवारीको चाप घटेपछि पशुचौपाय भने सडकमा निस्किएका छन् । यतिमात्र होइन केही सर्वसाधारण सडक किनारामा गाडीको पर्खाइमा पनि थिए ।

निषेधाज्ञा कडाइका साथ पालना गराउन सरकारले सडकमा सशस्त्र प्रहरीदेखि नेपाल प्रहरी र ट्राफिकसमेत उल्लेखिय संख्यामा परिचालन गरेको छ । अत्यावश्यक काम भएका, पास बाहक तथा कामको महत्व दर्साउनेहरुलाई हिडडुलमा छुट दिइएको थियो ।

निषेधाज्ञामा सरकारले जिल्ला प्रशासन कार्यालयबाट पास दिएका, बैक तथा वितिय क्षेत्र, सरकारी कर्मचारी, स्वास्थ्यकर्मीलगायत अत्यावश्यक सेवाका कर्मचारीलाई शर्तसहित आवतजावतको अनुमती दिएको छ । अनुमित बिना हिँड्नेलाई प्रहरीले केहीबेर होल्ड गरी छाडेको छ ।

निषेधाज्ञामा शैक्षिक संस्था, भिड हुने व्यापारीक क्षेत्र, सार्वजनिक तथा निजी सवारी लगायत अधिकाशं क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । यस्तै कोरोना संक्रमण बढ्दै गएपछि देशभरका २१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

समग्रमा यस पटक जारी निषेधाज्ञाको दोश्रो दिनमा काठमाडौं उपत्यकामा सार्वजनिक सवारी नचल्दा धेरैले सास्ती पाए भने केहीले सरकारको मापदण्ड उल्लंघन गरेका थिए ।

सरकारले यसअघि ०७६ को चैत ११ गते देशभर लकडाउन गरेको थियो । अघिल्लो पटकझै यसपाली पनि निधेषाज्ञा लम्बिनी सर्वसाधारणमा त्रास छ । तर, बढ्दो कोरोना संक्रमणबाट जोगिन हामी सबै सुरक्षित हुन जरुरी छ ।