भारतबाट फर्कनेलाई पाँच वर्ष जेल हाल्ने अष्ट्रेलियाको चेतावनी

भारतबाट फर्कनेलाई पाँच वर्ष जेल हाल्ने अष्ट्रेलियाको चेतावनी
शनिबार, बैशाख १८, २०७८

काठमाडौं । अष्ट्रेलियाले भारतबाट जबर्जस्ती रुपमा देश फर्कने आफ्नै नागरिकलाई समेत पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ ।

भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल वा ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको हो ।

बीबीसीका अनुसार भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेका छन् भने ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताएको बीबीसीले उल्लेख गरेको छ ।