च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै म्यान्चेस्टर सिटी फाइनलमा

च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै म्यान्चेस्टर सिटी फाइनलमा
बुधबार, बैशाख २२, २०७८

काठमाडौं– पहिलोपटक उपाधि जित्‍ने अभियानमा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै सिटी उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा सिटीले १० खेलाडीमा सीमित पिएसजीलाई २-० ले हराउँदै समग्रमा ४-१ को जीत निकाल्यो । यसअघि पहिलो लेगको खेलमा सिटीले पिएसजीकै मैदानमा २-१ को जीत निकालेको थियो ।

गएरातिको खेलमा सिटीको जीतमा दुवै गोल रियाद माहरेजले‌ गरेका थिए । खेलको ११औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका माहरेजले दोस्रो हाफको ६३औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा पिएसजीका एन्जेल डिमारियाले थ्रो गर्नूपूर्व फर्नान्डिन्होको खुट्टामा प्रहार गरेपछि रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । त्यसपछिको समय पिएसजी १० खेलाडीमा सीमित भयो र गोल फर्काउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो ।

सिटीले उपाधिका लागि रियल मड्रिड र चेल्सीबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।