डब्लुएचओ भन्छ, उपचार र खोपले मात्र कोरोना नियन्त्रण हुँदैन

डा. साम्भाजीराव पाण्डव: हाल नेपालमा ८३ प्रतिशत संक्रमित निको हुँदै

डब्लुएचओ भन्छ, उपचार र खोपले मात्र कोरोना नियन्त्रण हुँदैन
बुधबार, बैशाख २९, २०७८

नेपालमा कोरोना महामारीले भयावह रुप लिएको छ । यो बेला अस्पतालमा बेडको अभाव छ, अक्सिजनको अभाव छ । कैयौं अस्पतालमा स्वास्थ्यकर्मीको समेत अभाव छ । तर यहि बेला महामारी झनै बढेर गएपछि अहिले संक्रमण र मृत्यु दर समेत बढेको छ । यसैबीच विश्वभर कोभिड संक्रमण, रोकथाम तथा उपचारको वर्तमान अवस्था, खोपको पर्याप्तता, नेपालमा संक्रमण वृद्धिको दर तथा नियन्त्रणकालागि सरकारले चालेका कदमका बारेमा नेपालस्थिति विश्व स्वास्थ्य संगठनका प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवसँग न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ । प्रस्तुत छ, डा. राजेश साम्भाजीराव पाण्डवसँगको अन्र्तवार्ता :

– अहिले विश्वमा फैलिएको कोरोना संक्रमण कस्तो हो ?
विश्वभर कोभिड १९ को महामारी भयावह अवस्थामा पुगेको छ । अहिले संक्रमितहरुको संख्या बढीरहेको लगातार ९ साता भयो । मृत्युको संख्या बढीरहेको पनि लगातार ६ साता पुगि सकेको छ । विश्वभर गत साता भएका संक्रमणका घटनाहरु करिब करिब महामारीको पहिलो ५ महिनाताका भएका घटना बराबर थिए । गत साता ५७ लाख संक्रमित पत्ता लागे भने ९३ हजार भन्दा बढी मानिसको मृत्यु भएको जानकारी विश्व स्वास्थ्य संगठनलाई प्राप्त भएको छ । महामारीको सुरुवातदेखि अहिलेसम्म संक्रमितहरुको संख्या १५ करोड नाघेको छ भने मृत्युको संख्या ३१ लाख छ । विश्वस्तरमा हेर्दा यो चिन्ताजनक स्थिति हो । अर्कोतर्फ विश्वभर नै नयाँ नया भेरियन्टको प्रभाव देखिएको छ । बर्षभरीको लकडाउन र नियन्त्रणको अन्य उपायपछि धेरै मानिस भेला हुने ठाउँ खुल्न थाले भने खोपको वितरण पनि अप्रयाप्त रह्यो । त्यसैले उल्लेख्य प्रगती हुँदाहुदै पनि संसारभरी विशेषतः दक्षिण पुर्वी एशिया र विकासशिल राष्ट्रहरुमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन छ ।

– नेपाल, भारत जस्ता देशहरु किन कोरोनाको यो अवस्थाको मारमा पर्दैछन् ? अरु देशले कसरी यसलाई नियन्त्रणमा लिए ?
जुनजुन देशले यसलाई निन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे तिनीहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मेहनतपुर्वक कार्यान्वयन भयो । आधारभूत रुपमा भन्नुपर्दा, फराकिलो पहुँच सहितको परीक्षण, घटनाको अनुसन्धान, सम्पर्क पहिचान र मानिसहरु सबै जनस्वास्थ्य तथा सामाजिक उपायहरु अवलम्बन गर्छन् भन्ने सुनिश्चितता गरिएको थियो । राम्रो गर्ने देशहरुले बैज्ञानिक प्रमाण र सबल तथ्यांकका आधारमा नीति निर्माणहरु अपनाए । तर न्यून आय भएका देशहरु भन्दा उच्च आय भएका देशहरुको रोजाई अत्यन्तै फरक छ । बलियो स्वास्थ्य प्रणाली, स्वास्थ्य स्याहार तथा जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरु नै कोभिड १९ का कारण उत्पन्न संकट चुलिँदा त्यसको सामना गर्न बढी सक्षम भए । अहिले देशहरुमा के बुझाई बढ्दो छ भने विगतको दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अप्रयाप्त लगानीको प्रतिफल नै कोभिड–१९ को संकटको रुपमा र्दुभाग्यवस देखापरेको छ । तर यहाँ अवसरहरु पनि छन् । कोभिड–१९ विरुद्ध लड्दै गर्दा अब हामीले बलियो स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सवलिकरण बारे अत्यन्तै गम्भीर रुपमा सोच्नुपर्छ । ताकि आगामी बर्षमा यस्ता महामारीहरुको प्रभावकारी समाधान गर्न सकियोस् ।

– नेपालको अवस्था बारे विश्व स्वास्थ्य संगठनलाई पुर्व अनुमान के थियो ? सरकारलाई केहि सुझाव दिएको थियो ? कि सरकारले सुझाव नै लिएन ?
विश्व स्वास्थ्य संगठन आधारभूत रुपमा एउटा प्राविधिक निकाय हो । हामी नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ संग सम्बन्धित विभिन्न क्षेत्र तथा विषयमा विश्वव्यापी प्रमाण तथा सुझाव उपलब्ध गराउँछौ । हामीले दिएको जानकारीलाई के गर्ने भन्ने कुरा सरकारले निर्णय गर्ने कुरा हो । यद्यपि हामी सरकारले लागु गर्न सकोस् भनेर सुझावलाई नेपालकालागि सुहाउँदो बनाउने प्रयास गर्छौ । कोभिड–१९ महामारीको सुरुवातदेखि नै हामीले नेपाल सरकारलाई सुझाव, मानवीय स्रोत र सामाग्रीको सहयोग दिदै आएका छौ । हाम्रो निकट सम्बन्धका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग काँधमा काँध मिलाएर काम गर्छौ र प्राविधिक ज्ञान तथा सुझाव निरन्तर आदानप्रदान गर्छौ । चाहे ती सरकारी, निजी वा गैर सरकारी नै किन नहुन् । देशका सबै संस्थाहरुले कोभिड–१९ विरुद्ध लड्नकालागि समग्र समाजको दृष्टिकोणबाट आफ्ना स्रोत साधनलाई एकिकृत गरि प्रयोग गर्नुपर्छ । त्यसो भएमा मात्रै कोभिड १९ विरुद्धको लडाईमा ऐक्यवद्ध हुने र बैज्ञानिक प्रमाणमा आधारित निर्णय लिने कुराको आशा गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले दिएका सुझावहरु सरकारका निर्देशिका, मार्गदर्शन, मापदण्ड तथा कार्यविधिका रुपमा परिणत भएका छन् । हामीले कोभिड १९ विरुद्धको लडाईमा प्राप्त अध्यावधिक सूचना तथा वैज्ञानिक प्रमाणहरु सदैव सरकारलाई उपलब्ध गराएका छौ । किनकि रोग बढ्दै जाँदा नयाँ भेरियन्टहरु आईरहेका छन् । अनि नयाँ प्रमाणहरु पनि । हामी तत्कालै तीनलाई सम्प्रेषण गर्छौ र सरोकारवालाहरुलाई यस विषयमा छलफल र निर्णय अगाडि बढाउनकालागि मनाउन हाम्रो शक्ति, विश्वसनियता र भूमिकालाई प्रयोग गर्छौ । विश्व स्वास्थ्य संगठनका कर्मचारीहरु संघीय वा केन्द्रीय तहमा मात्रै नभएर प्रादेशिक तहमा पनि राखिएका छन् । जसले यस कठिन समयमा महत्वपुर्ण सहयोग उपलब्ध गराउँछन् । मुलतः विगत एक बर्षदेखि नेपालमा हामीले समग्र व्यवहारीक दृष्टिकोण अपनाएका छौ ।

– हामीले संक्रमण फैलिन नदिन प्रयोग गरेको नीति ठिक छ ? कि अझै फरक नीति लिनुपथ्र्यो ?
हामीसंग जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु छन् । जस्तै घटना अनुसन्धान, सम्पर्क पहिचान, जोखिममा रहेकाहरुको क्वारेन्टीन तथा संक्रमित तथा विरामीहरुको आईसोलेसन । संक्रमणको विस्तार रोक्न वा कम गर्न मास्क लगाउने, हातको सफाई गर्ने तथा भौतिक दुरी कायम गर्ने उपाय पनि छन् । उपचारकालागि अक्सिजन र डेक्सामेथाजोन पनि छन् । कोभिड–१९ को रोकथामका लागि विभिन्न सुरक्षित तथा प्रभावकारी खोपहरु पनि छन् । अब हामीले गर्नुपर्ने जरुरी काम भनेको यीनमा पहुँच विस्तार गर्नु, संक्रमण रोक्नु र जीवन बचाउनु हो । नेपालले कोभिड–१९ विरुद्ध यी विभिन्न रणनीतिहरु अपनाएको छ । उपलब्ध साधनको निरन्तर र समतापुर्ण प्रयोग भएमा केही महिनामा नै यस महामारीलाई नियन्त्रण गर्ने विभिन्न साधनहरु हामी संग छन् । जसमा खोप एक महत्वपुर्ण तथा शक्तिशाली उपाय हो । तर यो मात्र एउटै उपाय भने होइन । भौतिक दुरी, मास्क, हातको सफाई, हावा संञ्चार अर्थात् भेन्टीलेसन, निगरानी, परीक्षण, सम्पर्क पहिचान, आइसोलेसन, क्वारेन्टीन र स्नेहपुर्ण स्याहारसुसार कोरोना नियन्त्रणमा उपयोगी छन् । यी सबैले संक्रमण रोक्न र जीवन बचाउन सहयोग गर्छ । हामीले विर्सनुहुन्न कि सही नीति हुनु भनेको समाधानको एउटा पक्ष मात्रै हो । अर्को पक्ष चाही यसको पुर्ण कार्यान्वयन हो । कोभिड–१९ विरुद्ध लड्नकालागि सरकार र समग्र समाज चाहिन्छ । अनि नेपालमा पनि यही कुरा लागु हुन्छ । कोभिड–१९ महामारी परास्त गर्न समाज तथा समुदाय, सञ्चारका माध्यम तथा पत्रकार, हामी सबै एक हुनुपर्छ ।

– यो संक्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानव सभ्यता नै सखाप हुने देखिन्छ होइन र ?
महामारीको रोकथाम सुनिश्चित गर्नकालागि हामीले भाईरस संक्रमणको श्रृंखला तोड्नु पर्छ । त्यसकालागि हामीले जनस्वास्थ्य व्यवहारका नयाँ मुल्यमान्यताको पालना गर्नुपर्छ । त्यसैले अगाडिको बाटो सहज त छैन किन कि हामी विश्वव्यापी आपुर्ति श्रृंखला अन्र्तगत नै काम गर्दैछौ । जहाँ धेरै प्रकारका निर्भरताहरु छन् । तर संक्रमण दर डरलाग्दो हुँदाहुदै पनि हामीले निको हुने दर पनि बिर्सनु हुदैन । जसले हामीलाई आशा दिन्छ । हाल नेपालमा करिब ८३ प्रतिशत मानिस निको भएका छन् । हालसालै संक्रमितको संख्यामा तिब्र वृद्धि हुँदा निको हुने दर घटेको अनि संक्रिय संक्रमितको संख्या बढेको देखिन्छ । तर पनि आशावादी हुने कारण के छ भने २ सय ७५ भन्दा बढी खोपहरु विकास हुदैछन् । जसमध्ये ९१ को चिकित्सकिय परिचालन सुरु भईसक्यो र विश्व स्वास्थ्य संगठन अनि सदस्य राष्ट्रका कडा नियामक निकायहरुले ती मध्ये कतिलाई आपतकालिन प्रयोगकालागि बाटो खोलिदिएको छ । विकास प्रक्रियाको चरणमा रहेका यी खोपहरुले विभिन्न प्रकारका खोपका विधि र प्रविधि अपनाएका छन् । यी मध्ये केही निष्कृय बनाईएका पुर्ण भाइरस, इनएक्टीभिटेट होल भाईरस र भाईरल भिक्टर जस्ता पुराना अनि एमआरएनए र डिएनए जस्ता पहिलोचोटी प्रयोग भएका नयाँ प्रविधि छन् । यीनले धेरै किसिमका सुरक्षित तथा प्रभावकारी खोप पाउने हाम्रो संभावनालाई बढाएका छन् ।

– अहिले खोपको अवस्था कस्तो छ ? नेपाल जस्ता देशले सहज रुपमा खोप पाउन किन सकिरहेका छैनन् ?
खोपको पर्याप्त उत्पादन राष्ट्रिय सहकार्यमा भर पर्छ । सर्वप्रथम खोप विकासको इतिहासमा कुनै पनि रोगको खोप यति छिटो विकास भएको छैन । त्यसैले अनुसन्धान, उत्पादन क्षमता, खरिद तथा ढुवानी प्रक्रियामा लगानी गर्न सम्पुर्ण विश्व एकिकृत हुने हो भने अभूतपुर्व तिब्रता हासिल गर्न सकिन्छ । कोभिड–१९ त एउटा उदाहरण मात्रै हो । यो बेला सबै सरकारहरुबाट तत्कालै महत्वपुर्ण राजनीतिक तथा आर्थिक प्रतिवद्धता चाहिन्छ । नेपाल जस्तो देशहरुमा खोपको सुनिश्चितताकालागि पनि यो आवश्यक छ । तर हामीले सम्झनुपर्छ कि सुरक्षित र प्रभावकारी खोपले मात्रै समस्या हल हुदैन । आरटि, पिसिआर र एन्टिजिन परीक्षण तथा तिब्र निदानका उपाय र जीवनदायी औषधी उपचारका उपाय पनि महामारी अन्त्य र विश्वभरका स्वास्थ्य लाभकालागि अत्यावश्यक छन् । यी जीवनदायी साधनहरु तब मात्र प्रभावकारी हुन्छन् जब सबै भन्दा जोखिममा रहेका अधिकांशकालागि समतापुर्ण ढंगले सबै देश एकैपटक यी उपलब्ध हुन्छन् । यसकालागि सवल स्वास्थ्य प्रणाली तथा सेवा सञ्चालन हुनुपर्छ । हालै देखिएका भेरियन्टहरु चिन्ताका विषय हुन् र तीनले सामुहिक कदमको महत्व दर्शाउँछन् । किन कि भाईरसलाई फैलिन दिंदा वा संक्रमणको श्रृंखला तोड्न नसक्दा नै म्युटेसन हुन्छ र भेरियन्ट उत्पत्ति हुन्छन् । त्यसैले विद्यमान जनस्वास्थ्यका उपाय लागु गर्दै खोप उत्पादन र वितरणमा सकेसम्म छिटो अगाडि बढाउँदै भाइरसलाई परास्त गर्नु महत्वपुर्ण छ । विश्वस्वास्थ्य संगठनले सक्रियतापुर्वक भनिरहेको छ कि हामीसंग अझै धेरै खोप उत्पादक हुनुपर्छ । तीनमा बौद्धिक सम्पत्तिको सवाल सम्बोधन गर्नुपर्छ । नयाँ कम्पनीहरुलाई पनि खोप उत्पादनको अनुमति दिनुपर्छ ताकी ठूलो परिमाणमा खोप उत्पादन होस् । यो कस्तो भाइरस हो ? आदी विषयमा उपलब्ध भए अनुसारका आनुवांशिक जेनेटिक सूचनाको आदानप्रदान, जिन सिक्वन्सीङ क्षमता नभएका देशहरुको क्षमता विकास, खोप विकास गर्ने देशहरु बीचको सहकार्य, अनुसन्धान, खोप उत्पादन अनि सबैको तीनमा पहुँच हुनु पर्दछ । भाइरसलाई परास्त गर्न यी सबै कुरा जरुरी छ । यसमा धेरै तत्व संलग्न छन् र सबैको बलियो सहकार्य चाहिन्छ ।

– नेपालले भारतको जस्तो अवस्था आउन नदिन के गर्नुपर्छ ?
जनस्वास्थ्य सुरक्षाको उपायहरुको पुर्ण पालना हुनुपर्छ । उच्च तथा तिब्र गतिमा खोपको विकास हुनुपर्छ । हुनत नेपालमा खोप ल्याउन चुनौति छ । तर हामीसंग देशभित्रै विभिन्न साधनहरु छन् । जुन अन्य देशहरुले पनि देखाईसकेका छन् । राम्रोसंग गरिने घटना अनुसन्धान, सम्पर्क पहिचान, संक्रमित विरामीको आईसोलेसन अनि जोखिममा रहेकाहरुको क्वारेन्टीन । यी नै संकट समाधानका मुल मन्त्र हुन् । अहिलेसम्म आईपुग्दा यी उपायहरु परिचित भईसकेका छन् । संगै एक बर्षभरी नै निरन्तर लकडाउन हुँदा मान्छे तनाबमा परि थाके त्यसपछि धेरै हदसम्म खुल्ला गरियो । तर मानिसहरुले सार्वजनिक स्वास्थ्य मापदण्ड पालना गर्दछन् र आफुसंग भएका स्रोत साधनको उपयोग गर्दछन् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ । विभिन्न देशहरुले धेरै भन्दा धेरै खोप बनाउँदै गर्दा खोप त आउला तर मुख्य कुरा तीनको निरन्तर र तिब्र प्रयोग कसरी सुनिश्चित गरिन्छ भन्ने पनि हो ।

– अहिले देशका अधिकाशं स्थानमा निषेधाज्ञा छ । यो बेला सरकारल गर्नुपर्ने अनिवार्य काम पनि गरेन भन्ने गुनासो आईरहेको छ । प्राथमिकताको आधारमा यो समयमा के के काम गर्नुपर्छ ?
यस कोभिड १९ महामारीकालागि संसारका कुनै पनि देश पर्याप्त मात्रामा तयार थिएनन् । यो सिंगो संसारको स्थिति हेर्दा थाहा हुन्छ । त्यसमा पनि अल्पविकसित स्वास्थ्य प्रणाली भएका गरिब राष्ट्र««हरुमा यसको असर बढी रह्यो । हुनत कोभिड–१९ बारे विज्ञानको विकाश नि निरन्तर जारी छ । विगत १ बर्षमा क्षमता विकास र तयारीकालागि धेरै काम भए । तर दशकौंसम्म स्वास्थ्य प्रणालीमा लगानी गर्न हामीले गुमाएको अवसरको क्षतिपूर्ति यो छोटो समयमा नै हुन्छ भन्ने आशा गर्नु कठिन छ । अहिले धेरै भन्दा धेरै मानिसले महसुस गरेका छन् र मैले मन्त्री, प्रधानमन्त्रीले पनि भनेको सुनेको छु कि, जीवन नै पहिलो प्राथमिकता हो । स्वास्थ्य नै पहिलो प्राथमिकता हो । विश्व स्वास्थ्य संगठनका धेरै सिफारिसहरु सरकारले आफ्ना मार्गदर्शन, निर्देशिका जस्ता दस्तावेजमा स्वीकार गरेकामा हामी खुसी छौ । सरकारका सबै तह र समुदायको स्तरमा पनि यसको निरन्तर कार्यान्वयन महत्वपुर्ण छ । समुदायको शसक्तिकरण र संलग्नता पनि जरुरी छ । कोभिड १९ को जटिलताका कारण सरकार र समाजका सबै क्षेत्र र तहको एकीकृत प्रतिकार्य आवश्यक छ । साथै व्यक्तिगत प्रतिकार्यको महत्वलाई पनि कम आँक्नु हुदैन । अहिले महामारीको बेलामा चाहिएको साहस भनेको सबै जनस्वास्थ्य तथा सामाजिक मापदण्डको पालना गर्नु हो । जस्तै ः मास्क लगाउनु पर्याे । नियमित हात धुनु पर्याे । सामाजिक रुपमा नजिक रहेपनि भौतिक दुरी कायम गर्नु पर्यो । आफु पर्याप्त हावा बहने वातावरणमा भएको सुनिश्चित गर्नु पर्याे र भीडभाडमा जान भएन । यस महामारीलाई अगाडी बढ्नबाट नियन्त्रण गर्ने हो भने यी उपायहरुलाई निरन्तर पालना गर्नुपर्छ ।

– अन्तिममा नेपाली जनताकालागि केही भन्न चाहनुहुन्छ ?
म नेपाली जनतालाई सम्झाउन चाहन्छु कि, हामी सबै अगाडि बढ्नुपर्छ । आफु र अन्यलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेबारी पुरा गर्नुपर्छ । सबैलाई आग्रह गर्न चाहन्छु कि कृपया जनस्वास्थ्य निर्देशिका पालना गरौं, मास्क लगाऔं, बारम्बार हात धोऔं, भौतिक दुरी कायम गरौ र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौ । धन्यवाद ।