काठमाडौँ उपत्यकामा तेस्रो चरणको निषेधाज्ञा, घर बाहिर निस्कन नपाइने, के-के छ आदेशमा ?

काठमाडौँ उपत्यकामा तेस्रो चरणको निषेधाज्ञा, घर बाहिर निस्कन नपाइने, के-के छ आदेशमा ?
बिहिबार, बैशाख ३०, २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने भएका छन्।

कोरोना महामारी बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। अब निषेधाज्ञाको अवधिभर (१३ जेठसम्म) उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ सूचना जारी गर्दै कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गएिको जनाएको छ ।

‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका कार्यालयबाहेक जिल्लास्थित अन्य सबै कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’, प्रजिअ पराजुलीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन मिलाउन प्रशासनले निर्देशन दिएको छ।

यसैबीच काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको छ। यसअघि २९ वैशाखसम्मका लागि तोकिएको निषेधाज्ञाको समयावधि सकिएपछि गएराति देखि नै लागू हुनेगरी थप दुई साताका लागि निषेधाज्ञा थप गरिएको हो।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधा लागू गरिएको हो। सुरुमा एक साताको लागि निषेधाज्ञा जारी गरिएको थियो। पहिलो चरणको निषेधाज्ञा वैशाख २२ गते सकिएपछि पुनः एक साता थप गर्दै वैशाख २९ सम्म पुर्याइएको थियो।

कोरोना संक्रमण दर नघटेपछि उपत्यकामा पुनः दुई साता निषेधाज्ञा थप गरिएको प्रजिअ पराजुलीले बताए। निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने प्रजिअ पराजुलीले जानकारी दिए।

निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छ। सार्वजनिक र निजी सवारी साधन पूर्णरुपमा बन्द रहनेछन्। मानिसहरुको भिडभाड हुने सबै प्रकारका गतिविधिमा प्रशासनले पूर्णरुपमा रोक लगाएको छ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सामग्री ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ।

जिल्ला प्रशासनको आदेशमा के भनिएको छ ?