स्वास्थ्य मन्त्राालयले भन्यो : नेपालमा केही साता अझै चुनौतीपूर्ण

स्वास्थ्य मन्त्राालयले भन्यो : नेपालमा केही साता अझै चुनौतीपूर्ण
मङ्लबार, जेष्ठ ४, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकोले संक्रमण अझै फैलिने चेतावनी दिएको छ।

संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेको मन्त्रालयको दाबी छ। मन्त्रालयले निषेधाज्ञाको पालना पूर्ण रुपमा नभएकाले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने पनि बताएको छ।

मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको छ । मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा अवलम्वन गर्न समेत आग्रह गरेको छ ।

‘स्वास्थ्य क्षेत्र यसरी लागि पर्दा पनि यो संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘ अबका केही हप्ता अझै पनि चुनाैतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने देखिन्छ ।’

अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडिरहेको देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

यी जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।