काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो, खाद्यन्न पसल पनि खोल्न नपाइने

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो, खाद्यन्न पसल पनि खोल्न नपाइने
मङ्लबार, जेष्ठ ११, २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा एक साता थपिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको हो ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते शुक्रबार बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर प्रजिअ निरौलाले बताए ।

शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अहिले बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ । उनका अनुसार तरकारी पसल भने बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।