नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको कारोबार

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको कारोबार
बुधबार, जेष्ठ १९, २०७८

काठमाडौँ – शेयर बजार परिसूचक नेप्से बुधबार करिब ५६ अंकले बढेर २ हजार ८ सय २७.१२ बिन्दुमा पुगेको छ ।

लगातार दुई दिन घटेको नेप्से आज ५५.७६ अंकले बढेको हो । आज सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक बढेका छन् ।

करिब सवा एक लाख कारोबारबाट २ सय १९ कम्पनीका २ करोड २६ लाख १३ हजार कित्ता शेयर किनबेच भए । ती किनबेचबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाइएको छ ।

आज नेप्से वृद्धिसँगै सेन्सेटिभ परिसूचक १.५७ प्रतिशत र फ्लोट परिसूचक १.७ प्रतिशतले बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माई हाइड्रोको सर्किट लागेर मूल्य ५०६ रुपैयाँ पुगेको छ। त्यसैगरी मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स लगायत १२ कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।