बौद्धमा बोराभित्र मानिसको जलेको खुट्टा भेटियो (भिडियो रिपोर्ट)

बौद्धमा बोराभित्र मानिसको जलेको खुट्टा भेटियो (भिडियो रिपोर्ट)
मङ्लबार, जेष्ठ २५, २०७८

पुष्कर खतिवडा
काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानिसको खुट्टा भेटिएको छ । बोरामा पुरा शव भने भेटिएन । विभत्स तरिकाले हत्यापछि फ्याँकिएको शवको अंश मात्र भेटिएको छ । जो वयस्क मानिसको हुनसक्ने प्रहरीको आंकलन छ ।

मंगलबार बिहान बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५ सय मिटरभित्र चौरमा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न जानेले शंकास्पद बोरा देखेर प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले बोरा भित्र शव भेटिएको खबर गरेपछि घटनास्थल पुग्दा बोरा भित्र काटीएको अवस्थामा वयस्क मानिसको खुट्टा भेटेको थियो । परालले बेरेर बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको शवको अंशको प्रकृति हेर्दा हत्या केही दिनअघि नै भएको हुनसक्ने प्रहरीको आंकलन छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

जलाइएको जस्तो देखिने शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतकका बारेमा पहिचान खुल्न सकेको छैन । मृतक को हो ? भन्नेबारे पहिचान खुल्न नसकेकाले पहिले शव पोस्टमार्टम र डीएनए प्रोफाइलकालागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । त्यसपछि मृतक पहिचान गरेर हत्यारासम्म पुग्न अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको र शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएकोले यो विभत्स हत्या अन्त कतै गराएर बौद्धमा ल्याएर फ्याकेको हुनसक्ने प्रहरीको अनुमान छ ।