अमेरिकाले ५० करोड डोज भ्याक्सिन गरिब देशलाई वितरण गर्ने 

अमेरिकाले ५० करोड डोज भ्याक्सिन गरिब देशलाई वितरण गर्ने 
बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौँ– अमेरिकाले विश्वका सय गरिब देशहरुलाई ५०० मिलियन डोज (५० करोड) फाइजरको खोप वितरण गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी-७ देशहरुको बैठक अघि यसको घोषणा गर्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

आगामी दुई बर्ष भित्र संयुक्तराष्ट्रसंघको कोभ्याक्स कार्यक्रम मार्फत ५ करोड डोज फाइजरको खोप वितरण गरिने बताइएको छ । युरोप भ्रमणमा जानु अघि राष्ट्रपति बाइडेनले जी-७ बैठकमा विशेष घोषणा गर्ने बताएका थिए ।

अमेरिकी मिडिया रिपोर्टमा यस बर्ष फाइजरको २०० मिलियन डोज खोप वितरण गर्ने र २०२२ मा बाँकी ३०० मिलियन डोज खोप वितरण गर्ने अमेरिकाको तयारी रहेको उल्लेख छ ।

यसको औपचारिक घोषणा जी-७ को बैठकमा राष्ट्रपति बाइडेनले गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकाले यस अघि ८० मिलियन डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ ।