गण्डकी प्रदेश सरकारले गुमायो विश्वासको मत

गण्डकी प्रदेश सरकारले गुमायो विश्वासको मत
बिहिबार, जेष्ठ २७, २०७८

कास्की । गण्डकी प्रदेश सरकारले विश्वासको मत गुमाएको छ ।

आज भएको विश्वासको मतको प्रक्रियामा ५८ जना सांसद रहेको भएपनि ५७ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए । जसमध्ये प्रदेश सरकारको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बहुमतका लागि ३१ जना सांसद आवश्यक पर्ने भएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने बहुमत गुमाएका हुन् ।

यसअघि भएको विश्वासको मत माग्ने प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर उनको पक्षमा सरकारमै रहेका दिपक मनाङेले समेत मत दिएनन् । उनी मतदानमा सहभागी नै नभएको जनाइएको छ ।

यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर त्यसमाथि छलफल भने हुन सकेको थिएन । विपक्षी गठबन्धनमा रहेका दलहरुले कांग्रेस सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनका लागि प्रस्ताव गरेका थिए । तर उनी मुख्यमन्त्री भने नियुक्त हुन सकेका थिएनन् ।