‘जस्टिस फर ईपीएस पासर’ ट्रेन्डिङमा

‘जस्टिस फर ईपीएस पासर’ ट्रेन्डिङमा
बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौँ –कोरियन भाषा परीक्षा पास भए पनि डेढ वर्षदेखि कोरिया जान नपाएका श्रमिकहरुले सामाजिक सञ्चाल ट्वीटरमा चलाएको ‘जस्टिस फर इपीएस पासर’ अभियान नेपालको ट्वीटर ट्रेण्डिङ एकमा आएको छ ।

श्रमिकहरुले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गरेका छन् ।

उनीहरुले सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै आक्रोश पोखेका छन् । हालसम्म २८ हजार पाँच सय ट्वीट भइसकेका छन् ।

२०७६ फागुनको पहिलो सातादेखि ईपीएस प्रणालीमार्फत कोही पनि श्रमिक कोरिया जान पाएका छैनन् । त्यसमाथि कोभिड १९ को महामारीले झन अन्योलता थपेको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षा पास गरेर श्रम सम्झौता आइसकेका करिब सात हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रुपमा फर्किएका तीन हजार श्रमिक नेपालमै रोकिएका छन् ।