सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली नजाने

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली नजाने
शुक्रबार, जेष्ठ २८, २०७८

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’

बैठक आज दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ। छलफलका लागि बुधबार नै सबैलाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ।

यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री नजाने 

यसैबीच सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सभामुखले बोलाएको बैठकमा ओली सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका थिए ।