केपी ओलीको क्याविनेटमा काण्डैकाण्डमा मुछिएका मन्त्रीहरु …

केपी ओलीको क्याविनेटमा काण्डैकाण्डमा मुछिएका मन्त्रीहरु …
शुक्रबार, जेष्ठ २८, २०७८

प्रसन्न ढुंगाना

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिमण्डललाई पूर्णता दिएसँगै ओलीको मन्त्रिमण्डल २५ सदस्यीय पुगेको छ तर थपिएका अधिकांश मन्त्री विभिन्न विवादमा मुछिएको भन्दै टिका टिप्पणी शुरू भएको छ ।

आफैँ कामचलाउ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्री मध्य केहि मन्त्री विभिन्न विवादमा मुछिएका मन्त्री रहेको भन्दै आलोचना हुन थालेको छ । पुनः मन्त्रिपरिषद् विस्तार गर्दै १७ सदस्यीय मन्त्रिपरिषद्लाई २५ सदस्यीय बनाउँदा प्रधानमन्त्री ओलीले फेरि पनि राजपालाई नै प्राथमिकता दिएका छन् ।

तर, पूर्वमाओवादी खेमाबाट भने उनले अनौठा पात्र चयन गरेका छन । नेपाल सरकारको प्रवक्ता समेत रहने सञ्चार मन्त्रीमा प्रधानमन्त्री माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका पूर्वगृहमन्त्री रामवहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई नियुक्त गरेका छन ।

उनलाई मन्त्री बनाइनुमा गृहमन्त्रीबाट हटाइएका रामबहादुर थापाको गुण तिर्न हो भनेर विश्लेषण गर्न थालिएको छ । रामबहादुर थापा एमाले प्रवेशसँगै उनले मन्त्री बन्ने अवसर पाइन् ।

यस्तै, कृषि मन्त्री ज्वालाकुमारी शाह मन्त्रिपरिषद्को १५ औँ नम्बरमा पूर्वमाओवादीको कारबाहीमा परेर प्रदेश सदस्यबाट पदमुक्त भएकी सदस्य हुन । पूर्वमाओवादी नेता प्रभु साह निकट नेतृ भनेर चिनिन्छिन ।

पूर्वमाओवादी समुहबाट मन्त्री भएका यी दुवै पात्रसँग मन्त्रिपरिषदमा वसेर काम गरेको अनुभव छैन ।

यता, वन मन्त्री बनेका नारदमुनि रानाथारु संविधानसभा सदस्यको हैसियतमा प्राप्त रातो पासपोर्ट बिक्री गरेको अभियोगमा मुछिएका ब्यक्ति हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो चरणको मन्त्रिपरिषद विस्तारमै रघुविर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाएका थिए । उतिवेला प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कार्यसम्पादन मुल्यांकन गर्दा महासेठले सवैभन्दा कम नम्वर प्राप्त गरेका थिए ।

तर उनै महासेठलाई अहिले उपप्रधानसहित परराष्ट्र मन्त्री पद दिइएको छ । र,उदेकलाग्दो कुरा के भने उतिवेला अयोग्य भएका महासेठ अहिले अचानक कसरी योग्य भए ? भन्ने कुरा प्रष्ट समेत पारिएको छैन ।

त्यस्तै पहिलो मन्त्रिपरिषद विस्तारमै विवादित मन्त्री थिए–तत्कालीन कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ । बंगलादेशमा अध्ययन गर्न गएका विध्यार्थीका सन्दर्भमा दिएको विवादस्पद अभिव्यक्ति पछि उनले नैतिकताका आधारमा राजिनामा दिएका थिए । एमाले भित्र माधव नेपाल समुहका नेता तामाङ ओली समुहमा फर्कने वित्तिकै अचानक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाउन सफल भएका छन । यति मात्र होइन,उनले श्रीमती उषाकला राइलाई प्रदेश नम्वर १ को मन्त्री वनाउन समेत सफल भएका छन ।

कुनै बेला रक्षा मन्त्री जस्तो अति संवेदनशील मन्त्री हुदा देश नै टुक्राउने अभिव्यक्ति दिए पछि राजीनामा दिन वाध्य भएका शरद सिंह भण्डारी अहिले ओली क्याविनेटमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री बन्न सफल भएका छन । संविधान बन्दै गर्दा नश्लिय सोचले बनाएको संविधान भन्दै संविधान जलाएका राजेन्द्र महतोलाई ओलीले आफु पछिको तेस्रो बरियतामा राख्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीको जिम्मा दिएकाछन ।

उनै राजेन्द्र महतोले मन्त्री पदमा नियुक्ति हुना साथ बहुराष्ट्रिय राज्यको लागि लडने अभिब्यक्ति दिएर पुन: विवादमा परिसकेका छन । वैशाख २७ मा आफैलाई विश्वासको मत नदिइ असहयोग गरेका माधव नेपाल समुहका गणेश पहाडीलाई ओलीले सामान्य प्रशासन मन्त्रीको जिम्मा दिएका छन । उनी नेकपा एमालेमा योगेश भटटराईसंग निकट नेता भनेर चिनिन्छन ।

मन्त्रिपरिषदमा भर्खर इन्ट्री गरेका यी नेताहरुको अतिरिक्त स्वयम अर्थमन्त्री विष्णु पौडेल वालुवाटार काण्डमा मुछिएका छन भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि अन्टसन्ट वोलेर विवादमा परेका पात्र हुन ।

३ बर्षमा १९ पटक मन्त्रिपरिषद विस्तार गरेर अस्थिरतालाई नै स्थिरता दिएका प्रधानमन्त्री ओलीले यसपटक मन्त्रिपरिषद विस्तार गर्दा पनि पार्टी भित्र लामो संघर्ष,बलिदान र योगदान दिएका नेतालाई पाखा पारेका छन ।

आफनै भनेर उनलाई हरदम मद्धत गर्ने नेता पनि यसपटक मन्त्रिपरिषदमा परेका छैनन । कतिसम्म भने उनले प्रदेश नम्वर २ बाट मात्र १४ जना नेतालाई मन्त्री वनाएका छन । भौगोलिक,जातीय र क्षेत्रीय रुपमा मात्र मन्त्रिपरिषद अनसन्तुलित होइन, नियुक्ति पाएका ब्यक्तिको कार्यक्षमतालाई पनि उनले वेवास्ता गरेका छन ।