‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेकमा मनीषा कोइराला

‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेकमा मनीषा कोइराला
शनिबार, असार ५, २०७८

बलिउड हंगामा– बलिउडमा पछिल्लो दशकमा दक्षिण भारतीय फिल्मको रिमेक गर्ने क्रम बढ्दो छ । यही क्रमलाई निरन्तरता दिँदै एकता कपूर र रोहित धवनले तेलुगूको ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेक अधिकार लिएका छन् ।

फिल्ममा कार्तिक आर्यन र कृति सेनन प्रमुख भूमिकामा हुनेछन् । यो जोडीले यसअघि ‘लुका छुपी’मा अभिनय गरिसकेका छन् ।समाचारअनुसार कृतिले तेलुगू भर्सनमा अभिनेत्री पुजा हेड्जेको स्थानमा अभिनय गर्नेछिन् । जसका लागि उनी फाइनल भइसकेकी छन् ।

फिल्ममा कार्तिकको आमाको भूमिकामा अभिनेत्री मनीषा कोइराला हुनेछिन् । यो भूमिकाका लागि अभिनेत्री तब्बुलाई प्रस्ताव राखिए पनि कार्तिक र तब्बुले यसअघि नै फिल्म ‘भूल भुलैया २’मा अभिनय गरेका कारण निर्माताहरु तब्बुबाहेकका अभिनेत्री राख्न चाहन्थे । अहिले यो भूमिका मनीषाको हातमा आएको छ ।

फिल्मका लागि मनीषाले सहमति जनाइसकेकी छन् । सुटिङमा जानुअघिको सम्पूर्ण तयारी पुरा भइसकेको छ । यसै वर्ष सुटिङमा जाने फिल्म सन् २०२२ मा रिलिज हुनेछ । निर्माताले प्रमुख चाडपर्वको मौका पारेर रिलिज गर्ने योजना बनाएका छन् ।