हलिउडको एजेन्सीसँग जोडिइन् आलिया भट्ट

हलिउडको एजेन्सीसँग जोडिइन् आलिया भट्ट
शनिबार, असार २६, २०७८

मुम्बई (दैनिक भास्कर)– बलिउड अभिनेत्री आलिया भट्टको नजर अब हलिउडतिर पर्न थालेको छ । आलियाले हलिउडका चर्चित ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीहरुमध्ये एक विलियम मोरिस एजेन्सीसँग सम्झौता गरेकी छन् ।

यो एजेन्सीले खेल, कार्यक्रम, मिडिया र फेसनको व्यवस्थापन गर्दै आएको छ । यो एजेन्सीले अभिनेत्री फ्रिडा पिन्टोसँग पनि सम्झौता गरेको थियो । जसले ‘राइज अफ द प्लानेट अफ द एप्स’ र ‘इमोटल्र्स’मा काम गरिन् ।

आलियाको हातमा अहिले धेरै प्रोजेक्ट छन् । उनी सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछिन् । यो फिल्मको निर्देशन अयान मुखर्जीले गरेका छन् ।

आलिया शाहरुख खानको रेड चिलीज इन्टरटेनमेन्टका साथ फिल्म ‘डार्लिङ्स’को सहनिर्माण गरिरहेकी छन् । उनी हालका दिनमा मल्टी स्टारर फिल्म ‘आरआरआर’मा व्यस्त छिन् ।