बर्दियामा १६ वटा राँगा प्रहरीले पक्राउ गरेको विषयमा व्यापारीको आपत्ति 

बर्दियामा १६ वटा राँगा प्रहरीले पक्राउ गरेको विषयमा व्यापारीको आपत्ति 
आइतवार, साउन ३, २०७८

मुरली गोडिया

बर्दिया- बिक्री लागि ल्याइएका राँगा प्रहरीले पक्राउ गरेको विषयमा व्यापारीहरुले आपत्ति जनाएका छन् ।

गुलरिया ८ मा बाँधी राखेका स्थानबाट प्रहरीले राँगा नियन्त्रणमा लिएको विषयमा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विरु चैधरीले लगायतका व्यापारीहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले नियतबस व्यापारीलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।

चौधरीले भने, “यदि भारतबाट राँगाहरु ल्याएको हो भने सीमा क्षेत्रमा यति ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ हुँदा उनीहरुले किन कारबाही गर्न सकेन ?”

गुलरिया नगरपालिका ११ निवासी ३३ वर्षीय अब्दुल सलाम गद्दीले असार ३१ गते बारबर्दिया १० बैदाबाट १६ वटा राँगा खरिद गरी ल्याएको दाबी गरेका छन् ।

गुलरिया नगरपालिका वडा नम्बर ८ स्थीतको पशुहाट बजारमा बाँधी राखेको समयमा एक्कासी स्थानीय प्रहरी, प्रशासन लगायतको टोलीले ती राँगाहरुलाई नियन्त्रणमा लिएको थियो । अवैधरुपमा ल्याइएको भन्दै पक्राउ गरेको प्रहरीको भनाइ छ ।

आफूसँग सिफारिस पत्रसहितको कागजात भए पनि बलजफ्ती गरेर राँगा नियन्त्रणमा लिइ प्रहरीले भन्सार कार्यालयलाई बुझाएको अब्दुल सलामले बताए ।

उनले बारबर्दियाको बैदाबाट खरिद गरेर ल्याएको राँगालाई भारतबाट चोरी गरी ल्याएको भन्दै कागज गर्न लगाइएको आरोप लगाए । उनले आफूले राँगा किनेको पूरै पैसा पनि नदिएको बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यलय बर्दियाले भन्सार छली ल्याइएका १६ वटा राँगा सहित गुलरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले नियमित दिने विज्ञप्तिमार्फत भारतबाट भन्सार छली चोरी पैठारी गरी राँगा ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी तथा पशुपंक्षी विकास कार्यालयसहितको संयुक्त टोलीले उनिरुलाई राँगासहित पक्राउ गरेको जनाएको छ ।

यस विषयमा अनुसन्धनका लागि आवश्यक कागजात जुटाई अनुसन्धान पक्रिया अघि बढाइएको भन्सार कार्यलय गुलरियाका प्रमुख चक्र बहादुर सोनीले बताए ।